फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आगामी सङ्घ र प्रादेशसभाको निर्वाचनमा कुनै पनि राजनीतिक दलले एक्लै चुनाव लड्दा बहुमत ल्याउन सक्ने बताउनु भएको छ । महामन्त्री थापाले निश्चित् उद्देश्यसहित आगामी निर्वाचनमा दलहरुबीच तालमेल गरेर निर्वाचनमा जानुपर्ने बताउनु भएको हो ।

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री थापाले निर्वाचनमा केका लागि तालमेल गर्ने हो भन्ने कुरा पहिले नै टुुङ्गो लाग्नुपर्ने भन्दै उद्देश्य सहितको तालमेल गर्नु सान्दर्भिक हुने बताउनु भएको छ । राजनीतिक दलहरुबीच निर्वाचन अघि र पछिको तालमेल असफल भएको धारणा व्यक्त गर्नुभयो ।

पत्रकारहरुले सोधेको प्रश्नमा महामन्त्री थापाले ‘तालमेल के का लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ’ भन्दै तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यस्तो तालमेलको कुनै औचित्य र आवश्यक नभएको बताउनु भयो ।

निर्वाचनअघि गरिने तालमेल दलहरुका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्नेमा महामन्त्री थापाको भनाइ थियो । न्यूनतम समझदारी नबनी तालमेल गर्दा निर्वाचन जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने भन्दै ‘तालमेलमा रहेका दलहरुमा खाली सिटको बाँडफाँट हुने। निर्वाचन जित्ने कुरालाई मात्रै ध्यान दिने, निर्वाचन जितिसकेपछि आआफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा पर्दो रहेछ भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीको २०७४ सालको निर्वाचनबाट देखेका छौँ। निर्वाचनमा एउटा पार्टीले एक्लै लड्दा बहुमत ल्याउने अवस्था छैन’ भन्नुभयो ।