साङ्केतिक फाइल तस्वीर
काठमाडौं — अछामस्थित बुढिगङ्गा जलविद्युत आयोजना निर्माण गर्ने प्रक्रियाका लागि परामर्शदाता छनोट भएको छ । २० मेगावाट क्षमताको अर्धजलाशययुक्त बुढिगङ्गा जलविद्युत आयोजनाको परामर्शदातामा भारतीय कम्पनी जिओडेटा छनोट भएपछि उक्त आयोजना निर्माणको काम सुरु हुने भएको हो ।

यद्यपि, आयोजना निर्माण गर्ने मुख्य ठेक्का प्रक्रियाको काम भने अझै टुङ्गो लागेको छैन । उक्त जलविद्युत आयोजनाका प्रमुख श्यामकिशोर यादवका अनुसार आयोजना निर्माणका लागि छिटै टेण्डर आह्वान गरिने भएको छ ।

आयोजनाका प्रमुख यादवका अनुसार केही समय अगाडिदेखि नै विद्युतगृह, बाँधस्थल, पुल निर्माणका लागि टेन्डर आह्वान भैसकेको छ । यसका लागि कम्पनी छनोट गर्ने काम सक्न करिब पाँच महिना लाग्ने र आयोजना निमार्णको ठेक्काको काम सकिए लगतै चालु आर्थिक वर्षदेखि नै जलविद्युत आयोजना निर्माणको काम हुने बताइएको छ । यो आयोजना निर्माण कार्य सुरुभएपछि करिब दुई वर्षभित्र यो आयोजना निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।

आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन प्रतिवेदन र वातावरण प्रभाव अध्ययन (इआइए) स्वीकृत भइसकेको छ । प्रसारण लाइनका लागि आइइई प्रतिवेदन पनि स्वीकृत भइसकेको आयोजनाले बताएको छ ।

अछामको बुढाबगरमा बाँध बनाएर ५.६ किलोमिटर सुरुङमार्गबाट ठाटी बजारमा रहने विद्युत गृहमा पानी खसालिनेछ । यस आयोजनामा १०÷१० मेगावाटका दुई वटा टर्बाइन जडान गरिने छन् । जसबाट २० मेगावाट विद्युत उत्पादन हुने छ । करिब तीन किलोमिटर अर्धजलाशययुक्त उक्त जलविद्युत आयोजनाको जलाशय निर्माण गरिनेछ । विद्युतगृह अछामको साँफेबगर बजारबाट करिब ५ किलोमिटर दुरीमा रहने आयोजना प्रमुख यादवले बताएका छन् ।

कार्यालय भवन, बाँधस्थल, विद्युत गृह, सबस्टेसनलगायतका लागि ३२० रोपनी जग्गा अधिग्रहण गर्ने काम भैसकेकोे छ । कार्यलय तथा कर्मचारी आवास भवनहरु निर्माण भैसकेका छन् । आयोजनाका अनुसार अछामको २५०, डोटीको ५० र बाजुराको २० रोपनी जग्गा अधिग्रहण गरिएका छन् । त्यस्तै प्रसारण लाइन टावरका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरू भएको छ । पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । आयोजनाको मुख्य कार्यालय अछामस्थित नवनिर्मित भवनमा रहने भएको छ । आयोजनाको सम्पर्क कार्यालय भने काठमाडौंमा रहनेछ ।

बुढिगङ्गा अर्धजलाशययुक्त आयोजनाले सुख्खायाममा दैनिक ६ घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने छ । आयोजनाले वार्षिक १ सय ६ गिगावाट घण्टा विद्युत उत्पादन गर्ने बताइएको छ । कुल १० अर्ब ३३ करोड रूपैयाँको लागतमा बन्ने उक्त आयोजनाको निर्माण संयुक्त लगानीमा गर्न नेपाल सरकार र कुवेती फन्ड फर इकोनोमिक डेभलपमेन्टबीच सन् २०१२ मा सम्झौता भएको थियो भने सन् २०१४ मा साउदी विकास कोषसँग पनि सम्झौता भएको थियो ।