फाइल तस्वीर ।


साउन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईबीच आज बिहीबार भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र जसपाका नेता डा. भट्टराईबीच आज ललितपुरमा भेटवार्ता भएको हो ।

दुई नेताको भेटका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गर्नु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटका क्रममा ‘अब पार्टी एकता गरौं र नेकपा (समाजवादी केन्द्र) बनाऔं । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ भन्ने आफ्नो प्रस्ताव राख्नु भएको बताइएको छ । यता डा.भट्टराईले भने आफू कम्युनिस्ट पार्टीमा नफर्कने बताएता पनि यस विषयमा छलफल गरेर अगाडि बढ्न सकिने धारणा व्यक्त गर्नुभएको स्रोतको भनाइ छ ।

अध्यक्ष प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार केही दिनदेखि डा. भट्टराई लगायतका नेताहरुसँग निरन्तर भेटघाट र छलफल चलिरहेको र सोही क्रममा डा. भट्टराईसँग भेटघाट र छलफल भएको हो ।