फाइल तस्वीर


काठमाडौं – संसदीय छानविन समितिको बैठकमा बयान दिने क्रममा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले राष्ट्रका लागि कुनै घात नगरेको जिकिर गर्नु भएको छ । निवर्तमान मन्त्री शर्माले संसदीय विशेष छानविन समितिको आज बिहीबारको बैठकमा समितिका सदस्यहरुले सोध्नुभएको बैठकमा यस्तो जिकिर गर्नुभएको हो ।

निवर्तमान अर्थमन्त्री शर्माले जेठ १५ गते सङ्घीय संसदमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आय व्ययको बजेट प्रस्तुत गर्नुपूर्व अघिल्लो दिन जेठ १४ गते मध्यराति करको दरमा हेरफेर नगरिएको बताउनु भएको छ । छानविन समितिलाई बयान दिने क्रममा पूर्वअर्थमन्त्री शर्माले ‘करको दर हेरफेर गरेर राष्ट्रका लागि घात गरेको छैन’ भन्नु भयो । निवर्तमान अर्थमन्त्री शर्मामाथि बजेट भाषणको पूर्वसन्ध्यामा जेठ १४ गते अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दायरा हेरफेर गर्नुभएको आरोप लागेको थियो ।

अध्ययन अनुसन्धान गरी १० दिनभित्र समितिले काम सम्पन्न गर्ने समयसीमा तोकिएको थियो । समिति गठक भएको आज १० दिन पूरा हुँदैगर्दा समितिले पूर्व अर्थमन्त्री शर्मालाई बयान दिन आज बोलाएको हो । छानविन समितिले समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने भएको छ । छानविन समितिको प्रतिवेदन आउन अझै एक हप्ता कुर्नुपर्ने भएको छ । निवर्तमान अर्थमन्त्री शर्मामाथि लाग्दै आएको आरोप गलत सावित भए अर्थमन्त्रालयको जिम्मेवारी पुनः जनार्दन शर्माले नै सम्हाल्ने सम्भावना देखिएको छ । हाल अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिनुभएको छ ।