फाइल तस्वीर


काठमाडौं – प्रतिनिधिसभाको संसदीय समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग आज बिहीबार बयान लिने भएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने विषयमा छानविन गर्न गठित समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्न लागेको हो ।

निवर्तमान अर्थमन्त्री शर्मा आज समितिमा बयान दिनका लागि सिंहदरबारस्थित समितिको बैठकमा जानुभएको छ । निवर्तमान अर्थमन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेको थियो । संसदमा समेत अर्थमन्त्रीले राजीनामा दिनुपर्ने र छानविन गर्नुपर्ने विवाद चुलिंदै गएपछि शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले २२ असारमा संसदीय छानविन विशेष समिति गठन गर्नुभएको थियो । त्यसलगत्तै शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

समितिले यसअघि अर्थमन्त्रालयका उच्च अपदस्थ कर्मचारी र समाचार लेख्ने पत्रकारहरुसँग पनि बयान लिएको थियो । समिति सदस्यहरुले अर्थ मन्त्रालयका सचिव, राजश्व सचिव, बजेट महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख लगायतसँग सोधपुछ गरेको थियो । तर उनीहरुले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भन्ने आरोप अस्वीकार गरेका छन् ।

हिजो समितिले यस सम्बन्धी सबैभन्दा पहिले समाचार लेखेका अन्नपूर्ण पोष्ट दैनिकका सुरेन्द्र काफ्ले र ममता थापासँग पनि सोधपुछ गरेको थियो । तर काफ्ले र थापाले आफूहरुसँग प्रमाण भएको तर स्रोतको संरक्षणका लागि थप खुलाउन नमिल्ने बताएका थिए । छानविन समितिले पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको भन्ने विषयमा कुनै क्लु नभेटेपछि मन्त्रालयको सीसीटीभी फुटेज रिकभरका लागि विज्ञहरुको सहयोग लिने तयारी गरेको छ ।

काम सुरु गरेको मितिले १० दिनको समय अवधिभित्र समितिले प्रतिवेदन बुझाउनु पर्ने भएकाले आज निवर्तमान मन्त्री शर्मासँग बयान लिएपछि अहिलेसम्मको अध्ययनबाट प्राप्त तथ्यहरुको आधारमा विश्लेषण गरी निचोडमा पुग्ने र सोही अनुसारको प्रतिवेदन तयार हुनेछ ।

अर्थमन्त्री प्रकरणमा संसदीय छानविन समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा मानबहादुर विश्वकर्मा आएका छन् ।