साङ्केतिक तस्वीर
ककनी – नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थानस्थित भित्री सडकखण्डमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । महालक्ष्मीस्थानबाट तरकारी लिएर काठमाडौं आउँदै गरेको बा ४ ख ३७२८ नम्बरको टिपर गए राति पौने ३ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका–१ की अन्दाजी ३२ वर्षीया बसन्ती बलामी रहेकी छिन् बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

घाइतेमध्ये ट्रिपरमा सवार ककनी गाँउपालिका–१ का अन्दाजी ३० वर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ । टिपर चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी ओखरपौवा नुवाकोटले जनाएको छ ।