फाइल तस्वीर

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्ने भएको छ । समितिले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा लगेर करको दर हेरफेर गरेको विषयमा मन्त्रालयका कर्मचारीहरुसँग छलफल गर्ने तयारी गरेको हो ।

समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरुलाई बयानका लागि छुट्टाछुटै बोलाएको बताएको छ । अर्थ मन्त्रालयका अधिकारीहरुलाई तीन चरणमा समितिमा बोलाउने र बयान लिने समितिले जनाएको छ ।

शुक्रबार मन्त्रालयले बजेट निर्माणसम्बन्धी कागाजात र सीसीटीभीको फुटेझ समितिलाई बुझाएको थियो । त्यसमाथि आवश्यक छानबिन बाँकी छ । सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष समिति गठन गर्नुभएको थियो । छानबिनमा सहयोग गर्ने भन्दै जनार्दन शर्माले समिति बनेकै दिन अर्थमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो । समितिको आज पाँचौँ दिनको बैठक बस्न लागेको हो । समितिलाई छानबिनका लागि १० दिनको समय तोकिएको छ । काम सुरु गरेको १० दिन भित्र प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी समितिलाई छ ।