फाइल तस्वीर

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गर्नुभएको छ । आज शुक्रवार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्ध गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गर्नुभएको हो ।

उहाँले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेर मात्रै पास गर्नु नै ठूलो कुरा भएको बताउनुभयो । अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरुको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको बताउनुभयो । एकीकृत समाजवादी) का अध्यक्ष नेपालले एमसीसी जस्ताको त्यस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गर्नुभयो । अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम हुनुका साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी समेत गर्नुभयो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो– ‘हामीले एमसीसीलाई पनि यथास्थितिमा पास हुन दिएनौँ । व्याख्यात्मकसँग जोड्यौँ । इण्डो–प्यासिफिकको अङ्ग हुन्छ भने अस्वीकार गर्छौं भन्यौँ । यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ ? व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती क्याम्पमा जान थाले । सरकारी गाडी अघिपछि घुमाउन थाले । नेपालको भूमिमा छिमेकी देशलाई संवेदनशील बनाएर काम हुन थाल्यो । एसपीपी केपी ओली प्रधानमन्त्री भएकै पालोमा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो ।’

पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकमा बोल्दै अध्यक्ष नेपालले आगामी प्रदेश र सङ्घको निर्वाचनको मिति कुनै पनि समयमा घोषणा हुनसक्ने पनि बताउनुभएको छ । उहाँले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले संसदको अधिवेशन सकिनेबित्तिकै निर्वाचनको मिति घोषणा गरिने भएकोले मङ्सिरभन्दा पछि जाने सम्भावना नरहेको पनि उल्लेख गर्नुभयो । उहाँले पार्टीका नेताहरुलाई जिल्लामा केन्द्रीकरण हुन आग्रह समेत गर्नुभएको छ ।