काठमाडौं । प्रतिनिधिसभाको नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनुभएको छ । आज उपसभामुखमा निर्वाचित हुनुभएसँगै नयाँ बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनुभएको हो ।

उहाँले जनजीविकाका सवाल उठाउन संसद्मा तटस्थ भूमिका निर्वाह गर्ने बताउँदै उपसभामुखमा नवनिर्वाचित भुसालले आजको दिन लोकतन्त्र पक्षधरहरुको खुसीको दिन रहेको प्रतिक्रिया दिनुभयो । उपसभामुख भुसालले संविधानको कार्यान्वयनका लागि आफ्नो भुमिका रहने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिको विविध आयामहरूलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भुमिका खेल्ने बताउनुभयो ।

उपसभामुख भुसालले संवैधानिक परिषद्मा समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । संवैधानिक परिषद्सँग संविधानले राखेको अपेक्षा पूरा गर्न आफूले प्रभावकारी ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारबमोजिम नै आफू अघि बढ्ने धारणा व्यक्त गर्दै आफू सम्वद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारीहरू स्थगित गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपसभामुखजस्तो संवैधानिक पदले पूर्णता पाएको छ । लोकतन्त्र पक्षधरहरुको खुसीको दिन हो । आजको दिन महत्वपूर्ण दिन हो । संवैधानिक पद भएको हुनाले निर्वाचित भएपछि हाम्रो काँधमा केहि दायित्व थपिएको छ, म समन्वयकारी भूमिका निर्वाह गर्छु ।’