काठमाडौं – नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको छ ।

आज शुक्रवार रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीले जवाफ दिँदै हुनुहुन्छ । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । आईजीपी विवादबारे संयुक्त इजलासमा २०७९ जेठ ३०, असार ५, १३ र १९ मा सुनुवाइ भैसकेको थियो ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको हो । आईजीपी धिरजप्रताप सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ । आईजीपी विवादसँगै एआईजी बढुवा विरुद्धको रिटको सुनुवाइ सकिएको छ । निवेदक तर्फका कानुन व्यवसायीले जवाफ दिएपछि आज शुक्रवार नै फैसला आउने आँकलन गरिएको छ ।