फाइल तस्वीर ।


काठमाडौं – विभाजनको सङ्घारमा बल्झिएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चकनाचुर भएको दावी गर्नु भएको छ । अध्यक्ष यादवले बुधबारदेखि वीरगञ्जमा बसेको आफूपक्षीय कार्यकारिणी समितिको भेलाले गरेको निर्णयहरु सार्वजनिक गर्ने क्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलन बोल्दै पार्टी अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरेपनि आवश्यक सङ्ख्या नपुग्दा पार्टी फुटाउन खोजेका डा.बाबुराम भट्टराईको सपना चक्नाचुर भएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले ‘पार्टी फुटाउने षड्यन्त्र थियो, सङ्ख्या नभएर आफैं परास्त हुनुभयो । आफ्नो गुटको बैठक बोलाउनुभयो, यो गलत थियो’ भन्दै उहाँले ’पार्टी विधानविपरीत कार्य गरेर अर्को जसपा दर्ता गराउने सपना चक्नाचुर भएको छ’ भन्नुभयो ।

काठमाडौंमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको समेत अध्यक्ष यादवले जानकारी गराउनु भएको थियो । जसपा सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले मङ्गबार र बुधबार दुईदिन राजधानीमा आफु निकट नेताहरुको भेला गर्नुभएको थियो ।