फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धन दलको बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक’का सम्बन्धमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

सत्ता गठबन्धनमा सहमति जुटेलगत्तै आजै शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने र उक्त विधेयक पारित गरिने छ । सरकारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ ।

द्वन्द्वकालीन घटनाको छानविन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग छन् । दुवै निकाय ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ अनुसार सञ्चालित भए पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन हुनुपर्ने पीडितहरुले माग गर्दै आएका छन् ।

सर्वोच्च अदालतले समेत कानुन संशोधन गर्नु भनी २०७१ साल फागुन १४ गते सरकारका नाममा आदेश दिएको थियो ।