फाइल तस्वीर

काठमाडौं – विगत साढे दुई वर्षदेखि रिक्त रहेको प्रतिनिधिसभाले आज उपसभामुख पाउने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मतदानको प्रक्रिया सुरु हुने कार्यसूची रहेको छ । यसअघि हिजै मनोनयन दर्ता गरी उम्मेदवारको अन्तिम नामवली प्रकाशन भइसकेको छ । उपसभामुखका लागि पाँचदलीय गठबन्धनबाट नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल र प्रमुख विपक्षी दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सत्ता गठबन्धनसँग बहुमत रहेकोले काङ्ग्रेसकी सचेतक भुसाल उपसभामुखमा विजयी हुन करिब पक्का छ । वि.सं. २०७६ माघ ६ मा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको उपसभामुख पदमा आज निर्वाचन हुन लागेको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद रहेका छन् । जसमध्ये प्रतिनिधिसभामा एमालेको ९८, काङ्ग्रेसको ६३, माओवादी केन्द्रको ४९ र एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोकतान्त्रिक समाजवादी पार्टीका १३ र अन्य चार जना सांसद रहेका छन् ।

सत्तारुढ गठबन्धनको पक्षमा १ सय ५४ सांसद देखिएका छन् । चार सांसद रिक्त छन् भने चार जना निलम्बनमा छन् । १३४ मत भए बहुमत पुग्ने हुँदा काङ्ग्रेस, माओवादी र नेकपा एसको मत नै जितका लागि पर्याप्त छ ।