काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक ठाउँमा हुनु जरुरी रहेको बताउनुभएको छ । आज राजधानीमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा अध्यक्ष प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक ठाउँमा हुनु जरुरी रहेको र त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले भन्नुभयो, ‘आन्दोलन नयाँ सृष्टि गर्नका लागि एउटा बल गर्नुपर्ने हुन्छ । वैज्ञानिक विचार राख्ने भनेका कम्युनिस्ट नै हुन् । हिजो कम्युनिस्ट एकता गराएकै हो । वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक ठाउँमा हुनैपर्छ । हिजो प्रस्तावक म थिए भोलि पनि मै प्रस्तावक हुन्छु भन्ने लागेको छ ।’

उहाँले नेपालमा अहिले कोही पनि स्वतन्त्र नरहेको तर्क गर्दै भन्नुभयो, ‘अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुँदैन, खास गरी नेपालमा अगाडि बढ्ने कि पछाडि फर्कने भन्ने हो ? योभन्दा अरू बाटो अहिले म नेपालमा देख्दिन ।’ प्रचण्डले केही नयाँ गर्नुपर्छ भन्नेहरूमाथि घेराबन्दी हुने संस्कार नेपालमा रहेको बताउनुभयो । ‘समाज एक खालको सोचमा हुर्केको छ । नयाँलाई स्वीकार्न नचाहने सोच छ । नयाँ कुरा ग¥यो भने घेरा हाल्ने संस्कार छ । विज्ञानको नियमलाई मानेर अगाडि बढ्नुको विकल्प हुँदैन ।’

उहाँले भन्नुभयो, ‘आज भोलि केही नेताहरू सङ्घीयता खारेज गर्नुपर्छ भनेर बोलिरहेका छन्, त्यो भनेको निरङ्कुश राजतन्त्रकै दिशामा फेरी जाने भन्ने हो । स्थानीय र प्रदेश सरकारलाई अझ व्यवस्थित र मजबुत बनाउँदै प्राकृतिक स्रोत साधनमाथि जनताको हक अधिकारलाई सुनिश्चित गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।’ उहाँले पछिल्लो समय केही नेताहरूले सङ्घीयता खारेज हुनुपर्छ भनिरहेको भन्दै उक्त कदम निरङ्कुश राजतन्त्रतर्फको यात्रा भएको र सङ्घीयतालाई खारेजी नभई व्यवस्थित र मजबुत बनाउनु पर्नेमा जोड दिनुभएको छ ।