काठमाडौं – सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको हो । सो विधेयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन् ।

नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गर्नुभएको हो ।
एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा पहिलेको विधयेक फिर्ता लिएर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु समितिकै अवहेलना भएको बताउनुभयो ।

एमालेकै अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्मविपरीत विधेयक आएको बताउनुभयो । नेमकिपाका सांसद सवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्नुभयो । तीनै जना सांसदको विरोधको सूचना अस्वीकृत भएपछि गृहमन्त्री खाँणले विधेयक पेश गरी प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक अघि बढेको हो ।