काठमाडौं – पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपालीहरूको नागरिकतासम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज मङ्गलबार खुमलटारमा गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक सदनबाट पास गराएर समस्याको समाधान गरिने विश्वास दिलाउनुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “गैरआवासीय नेपालीहरूको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौँ र अहिले पनि हाम्रै पहलमा सदनमा पेश भएको नागरिकतासम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिबद्ध छौँ ।”

प्रतिनिधिमण्डलले नागरिकता समस्यासहितका विषयहरू समावेश गरी सदनमा पेश भएको नागरिकता विधेयक ल्याउनमा माओवादी पार्टीका तर्फबाट भएको पहलका लागि धन्यवाद दिएको छ । त्यसलाई सदनबाट पास गराएर ८० लाख गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्न पहलका लागि एनआरएनले अनुरोध गरेको थियो । सो नागरिकतासम्बन्धी समस्या हल गर्नका लागि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले पहल गर्ने बताउनुभएको छ ।