काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभापति अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै संसद्को लेखा समिति बैठक बहिस्कार गरेको छ । आज बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले सांसदहरू विशाल भट्टराई, गोकुल बास्कोटालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

दुवै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न उठाएपछि एमाले सांसदहरू बैठक छोडेर हिँडेका हुन् ।

आज मङ्गलबार लेखा समिति बैठकमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । लेखा समिति बैठकमा विशाल भट्टराईले भन्नुभयो, ‘विगत एक वर्षदेखि समिति सरकारको काम कारबाहीमा पुरै बेखबर जस्तो छ । विगतमा हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्दथ्यो । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । यो देशमा लेखा समिति छ कि छैन जस्तो भयो । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठिक भएन । हामी आश्चर्य चकित भएका छांै । लेखा समिति विपक्षलाई दिनैपर्छ ।’

सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने एमालेको अडान छ ।