काठमाडौं – जनता समाजवादी पार्टी सङ्घीय परिषद् नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ । जसपा अध्यक्ष डा.भट्टराई पक्षको जडिबुटीमा सुरु भएको बैठकमा भट्टराईले पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभारनामक राजनीति प्रतिवेदन पेश गर्नुभएको हो ।

जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बनेको भन्दै अध्यक्ष भट्टराईले पार्टी पुनर्गठन के कसरी गर्ने? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार भएको स्पष्ट पार्नुभएको छ । उहाँले यो बिषयमाथि गम्भीर, सघन विचार, बिमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार बैठक सामु प्रस्तुत गर्नुभएको छ । उहाँले विभिन्न राजनीतिक समूह, आन्दोलनकारी धारा, वैचारिक भावधारा र व्यक्ति–व्यक्तित्व मिलेर जसपा निर्माण गरेको स्मरण गर्दै त्यसको औचित्य र आवश्कता झनै टड्कारो भएको बताउनुभयो ।

डा.भट्टराईले छलफलका लागि आफूहरूसँग दुई वटा विकल्प रहेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘छलफलका लागि हाम्रा सामु दुई विकल्प हुन सक्दछन । एक– नयाँ ढङ्गले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने, दुई–विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने ।’ प्रतिवेदनमा अगाडि भनिएको छ –‘पार्टीको कानूनी बैधता निरूपण गर्ने आफ्नै प्रक्रिया छ । त्यो काम निर्वाचन आयोग गर्दै गर्ला । पार्टीको आधिकारिक वैधता हामीसँग रहेको वा नरहेको– दुबै अवस्थामा वैचारिक, सैद्धान्तिक, राजनीतिक वैधता भने हामीसँग हुनेछ । समुन्नत सङ्घीय समाजवादको सिद्धान्तमा आधारित प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको वैकल्पिक राष्ट्रिय राजनीतिक दल निर्माण गर्नु, यसको संगठनात्मक शक्ति र आन्दोलनमार्फत् जनताको पहिचान, अधिकार, समावेशीता, सुशासन, आर्थिक विकास, समृद्धि र समाजवादको अपेक्षा पूरा गर्नु जसपाको मूल ध्येय थियो । त्यो ध्येयबाट हामी किञ्चित विमुख भएका छैनौं । हुने पनि छैनौं ।’

उहाँले आज राजधानीकोे जडिबुटीमा आयोजित बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा भन्नुभएको छ, ‘हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ । पार्टी पुनर्गठन के कसरी गर्ने ? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो । तसर्थ यो बिषयमाथि गम्भीर, सघन र विहंगम विचार, बिमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठक सामु छोड्न चाहन्छु ।’ बैठकले निकालेका निष्कर्षको आधारमा हामी पुनर्गठित पार्टीको घोषणा–पत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्नेछौं । सोही बमोजिम यसलाई वैधानिकता दिने प्रक्रिय पूरा हुनेछ ।

हेर्नुहोस् प्रतिवेदनको पूर्ण पाठः