फाइल तस्वीर
काठमाडौं – सङ्घीय संसद अन्तर्गत रहेको राष्ट्रियसभाको बैठक आज मङ्गलबार बस्दैछ । उक्त बैठक ११ बजे बस्न लागेको हो ।


आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सभा समक्ष टेबुल गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ खानेपानी तथा सरसफाई विधेयक, २०७६ टेबुल गर्ने कार्यतालिका छ ।

यसैगरी गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।