काठमाडौं – यौन हिंसा विरूद्धका केहि ऐनलाई सम्शोधन गर्ने विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकले उक्त विधेयकलाई सर्वसमम्मतले पारित गरेको हो । समितिको बैठकले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गर्दै ऐन संशोधनको लागि प्रस्ताव गरेको थियो । यौन हिंसा विधेयकमार्फत हदम्याद बढाउन लागिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले राखेको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । यसअघि सो विधेयकमाथि बैठकमा छलफल भएको थियो भने बैठकका क्रममा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको मन्त्री कोइरालाले जवाफ दिनुभएको थियो ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा संसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख अग्नी सापकोटाले उक्त विधेयकलाई निणायार्थ पेस गर्नुभएको थियोे । मुलुकी फौजदारी संहिताको दफा २२९ को संशोधन गरेर हदम्याद बढाउन लागिएको हो । बलात्कार मुद्दामा हदम्याद नाघेर दिइएको उजुरीमाथि कारबाही नहुने व्यवस्था संशोधन गर्न लागिएको हो ।

समितिको सहमति अनुसार अब नाबालिका बालिक भएको उमेर तीन वर्षसम्म पनि उजुरी गर्न पाइने छ । त्यस्तै बालिकको हकमा भने दुई वर्षसम्म उजुरी गर्न पाइने छ । यसअघि बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधिसभामा र राष्ट्रियसभामा संकल्प प्रस्तावसमेत दर्ता भएको थियो ।