काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियान्चाओले आज नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उहाँले आजै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणमा रहनुभएका चियान्चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरिसक्नुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख चियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभएका थिए । प्रधानमन्त्रीको अमेरिका भ्रमण तय भइसकेपछि तीन दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएका चियान्चाओ चिनियाँ उच्च नेतृत्वको भ्रमणलाई विशेष रुपमा हेरिएको छ ।