फाइल तस्वीर
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको बकर इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले ‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधताका बीच एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामथ्र्य हो,’ शुभकामना सन्देशमा भन्नुभएको छ ।

राष्ट्रपतिले शुभकामना सन्देशमा ’यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोलः संस्कृति र भाषाभाषीका समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु’ भन्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बकर इदको अवसरमा शुभकामना व्यक्तगदै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक भएको भन्दै विभिन्न समुदायका चाडवाड, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताउनु भएको छ ।

उपराष्ट्रपति पुनले शुभकामना सन्देशमार्फत् ‘भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीहरूको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने’ विश्वास समेत व्यक्त गर्नुभएको छ ।

बकर इदको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना दिनुुभएको छ । सरकारले बकर इदको अवसरमा सार्वजनिक विदा दिएको छ ।