काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने विश्वास लिएको छ । महासङ्घले हिजो बिहीबार नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तियाक राईलाई भेटेर कार्यकाल सफलताको शुभकामना दिँदै यातायात क्षेत्रमा विद्यमान समस्या समाधान हुने विश्वास लिएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा गएको यातायात व्यवसायीको टोलीले नवनियुक्त मन्त्रीको कार्यकालमा समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण हुनुका साथै समयानुकूल व्यवस्थित र यात्रुमैत्री यातायात सञ्चालन हुने बताएको छ ।

महासङ्घले नयाँ मन्त्रीको कार्यकालमा देशभर नियमित र व्यवस्थित रूपले उपभोक्तामुखी सेवा दिने अभिप्रेरणा मिल्ने बताएको छ । भेटमा मन्त्री राईले यातायात क्षेत्रको सुधारका लागि सरकार व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।