काठमाडौं – औषधि व्यवस्था विभागले बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक भरत भट्टराईले एक सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्न नकारात्मक असर देखिएकाले विक्री वितरण गर्न रोक लगाइएको बताउनुभएको छ ।

उक्त औषधि बच्चालाई भिटामिन सी को रूपमा खुवाउने गरिन्थ्यो। उक्त औषधि भारतको जी प्रयोगशालाबाट उत्पादन गरिएको हो । सूचनामा औषधि ऐन, २०३५ बमोजिम विभागबाट अनुमति नभएका वस्तु औषधिका रूपमा मान्न नसकिने तथा सोको गुणस्तर तथा सुरक्षित र प्रभावकारिता बारेमा समेत एकिन नहुने हुँदा त्यस्ता वस्तुको पैठारी तथा बिक्री वितरण नगर्न नगराउन र औषधिका रूपमा प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।

हाल बजारमा उपलब्ध कतिपय भिटामिन तथा लवणका सार तत्व भएका भनिएका वस्तु र औषधि स्वास्थ्यका दृष्टिले अनावश्यक र उपयोगिता नहुने भएकोले त्यस्ता वस्तु र औषधिलाई प्रतिबन्ध लगाइएको सूचनामा भनिएको छ । महानिर्देशक भट्टराईले ट्याब्लेट, क्याप्सुल तथा झोललगायत औषधि र खाद्य समपुरकका रूपमा रहेका वस्तुको अत्यधिक पैठारी गरी सञ्चय, विक्री वितरण र प्रयोग भइरहेको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको बताउनुभएको छ ।