काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । मङ्गलबार र बुधबार स्थगित भएर आज बिहान ११ बजे बस्न लागेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको नाम घोषणा गर्ने सम्भावना छ । प्रज्ञा भवन कमलादीमा हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

यस्तै पूर्वस्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ । पार्टी अध्यक्ष प्रचण्डले सकेसम्म सहमतिमै पदाधिकारी चयन गर्ने बताइरहनुभएको छ । माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी टुङ्गो लगाउन सकेको छैन । । पदाधिकारीको नाम टुङ्गो लगाउनकै लागि गृहकार्य चाहियो भन्दै प्रचण्डले मङ्गलबारको केन्द्रीय समिति बैठक रोक्नुभएको थियो भने हिजो बुधबार अर्थमन्त्रीको राजीनामा प्रकरणका कारण बैठक रोकिएको थियो ।

माओवादी केन्द्रले सकेसम्म सहमतिमै पदाधिकारी चयन गर्ने तयारी गरेको छ । केन्द्रीय सदस्यहरूले मतदानबाट भए पनि पदािधकारीको टुङ्गो लगाउन दबाब बढाएका थिए । तर शीर्ष नेताहरूले मतदानमा सकेसम्म नजाने सहमति गरेका छन् । माओवादीको महासचिवका लागि मुख्यगरी जनार्दन शर्मा र वर्षमान पुनको बलियो दाबेदारी छ । दुवैले एक अर्काका लागि त्याग गर्न नसकेको अवस्थामा भने विकल्प खोजिनेछ । शर्मा र पुनको विकल्पमा पम्फा भुसाल, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल लगायतका नेताहरूको नाम चर्चामा रहेको छ ।

महासचिव बाहेक वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प देखिएको छैन । यता, पम्फा भूसाल, देव गुरुङ, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायतका नेता पनि पदाधिकारीका दाबेदार हुन् । उनीहरू पहिला नै पदाधिकारी भइसकेका कारण दोहोरिने पक्का छ । तर, उनीहरू माथिल्लो तहमा उक्लिने प्रयासमा छन् । भुसाल प्रवक्ता मात्रै भएका कारण अहिले महासचिवकै दाबेदार भए पनि उनलाई उपाध्यक्ष बनाउने सम्भावना पनि रहेको छ । गुरुङलाई पनि उपाध्यक्ष बनाउन सक्ने माओवादी नेताहरूको भनाइ छ । पोखरेल पहिला सचिव भएकाले अहिले महासचिवकै दाबेदार हुन्, तर उनी श्रेष्ठ समूहको भएका कारण उनलाई कुन पदमा व्यवस्थापन गरिन्छ भन्ने प्रष्ट छैन ।

यता, हरिबोल गजुरेल भने पहिला नै कोषाध्यक्ष भइसकेका कारण उनलाई उपाध्यक्षमा बढुवा गर्न सक्ने सम्भावना पनि देखिएको छ । प्रचण्डले केही नयाँ अनुहारलाई पनि पदाधिकारीमा ल्याउने तयारी गरेको माओवादी स्रोतको दाबी छ । मातृका यादव, हितराज पाण्डे, देवेन्द्र पौडेल पनि पदाधिकारीका आङ्काक्षी रहेका छन् ।