खोटाङ – चट्याङका कारण इन्टरनेट स्टेसनमा क्षति पुग्दा खोटाङमा इ–पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेसनमा चट्याङका कारण क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको इ–पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको हो ।

इन्टरनेट स्टेसनको क्षतिग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ–पासपोर्ट सम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने प्रशासनले जनाएको छ ।

यसअघि दुई दिन २० र २१ असारमा इ–पासपोर्ट सम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने भन्दै सुचना जारी गरेको राहदानी शाखाले पुनः अर्को सुचना जारी गर्दै इन्टरनेटको समस्या हल नभएसम्मका लागि इ–पासपोर्ट सम्बन्धी कार्य नहुने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयमा इन्ट्रानेटमार्फत इ–पासपोर्टको कार्य हुँदै आएको जनाएको छ ।