फाइल तस्वीर

काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति सुदूरपश्चिम, बागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावजोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।