काठमाडौं – राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीको स्वागत कार्यक्रममा उहाँले ठूला कर छलीका घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

राजस्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्ने बताउँदै उहाँले आफूहरूको दृष्टिमा ठूला भन्ने कोही नरहेको उल्लेख गर्नुभयो । राजस्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, ट्रेडिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताउँदै उहाँले उद्योगको हकमा राजस्व चुहावट कम रहेको र त्यसले उत्पादकत्व वृद्धिमा सघाएको उल्लेख गर्नुभयो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको र यसलाई रोक्न नसक्दा हिजो बाबु बाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरु पलायन हुने खतरा बढेको बताउनुभयो । महानिर्देशक अधिकारीले सही तरिकाले व्यवसाय गर्नेहरूको संरक्षण र अवैध रूपले हुने राजस्व चुहावट रोक्नु जरुरी रहेको बताउनुभयो ।

महानिर्देशक अधिकारीलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचका नाममा व्यवसायीको मानमर्दन नगर्न तथा व्यवसायीलाई सफाइको मौका दिन माग गर्नुभयो । पोखरा उद्योग वाणिज्य सङ्घ अवैध व्यवसायको पक्षमा नभएको प्रष्ट पार्दै उहानँले व्यवसायीमाथि आरोप लाग्दैमा ऊ अपराधी नहुने र सफाईको मौका पाउनुपर्ने समेत बताउनुभएको छ ।