फाइल तस्वीर

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । हिजोका लागि तय भएको बैठक पदाधिकारी टुङ्ग्याउनका लागि आन्तरिक गृहकार्य गर्ने भन्दै आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा हिजो मङ्गलबार दिनभर आन्तरिक छलफल गरेको माओवादीले आजको बैठकमार्फत पदाधिकारीसहितको विषय टुङ्ग्याउने तयारी गरेको छ । पूर्व स्थायी कमिटी र इञ्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएपछि आज त्यसअनुसार अध्यक्ष प्रचण्डले बैठकमा पेश गर्ने नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

विधान अनुसार माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने तयारी समेत छ । प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको बैठकमा नेताहरुले बैठक लम्ब्याएर भए पनि पदाधिकारी चयन टुङ्ग्याउनु पर्नेमा जोड दिइरहेका छन् । गत पुसमा महाधिवेशन भए पनि माओवादीमा अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेको छैन ।