काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गर्ने तयारी गर्नुभएको छ । बजेटमा करको दर हेरफेर गर्न व्यापारिक घरानाका कर्मचारीलाई जिम्मेवारी दिएपछि आलोचित हुँदै आउनुभएका अर्थमन्त्री शर्मालाई प्रधानमन्त्री देउवाले पदमुक्त गर्ने तयारी गर्नुभएको हो । गत जेठ १५ गते बिहान अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको आशङ्कामा शर्माले त्यस बेलाको सिसिटिभी माग्दा दिएको जवाफले उहाँलाई पदमुक्त गर्न थप दबाब सिर्जना भएको हो ।

उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरी सिसिटिभी फुजेट माग गरेपछि अर्थ मन्त्रालयले शर्माको निर्देशनमा आइतबार ‘डिलिट भइसकेको’ गैरजिम्मेवार जवाफ दिएपछि अर्थमन्त्री शर्मालाई पदमुक्त गर्न थप दबाब परिरहेको बताइएको छ । शर्माले सिए सापका रूपमा परिचय गराएर करका दर हेरफेर गर्न जिम्मेवारी दिनुभएका व्यक्ति पूर्वनासु एवं चौधरी ग्रुपका कर्मचारी रघुनाथ घिमिरे र ‘इन्फिनिटी होल्डिङ्ससँग आबद्ध अर्का एक व्यक्ति हुनुहुन्थ्यो ।

अर्थमन्त्री शर्मालाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल एमालेदेखि सरकारको नेतृत्व गरेको काङ्ग्रेसभित्रैबाट प्रधानमन्त्रीमाथि दबाब परेको छ । सो विषयमा गठबन्धभित्र कुरा उठे पनि प्रधानमन्त्री देउवा र प्रचण्डकै स्वार्थका कारण सामसुम पारिँदै आएको थियो । हिजो सोमबार जनता समाजवादी पार्टी(जसपा)का मन्त्रीहरूको सपथ ग्रहणका क्रममा शितलनिवासमा भएको संक्षिप्त र औपचारिक कार्यक्रममा भण्डारीले प्रधानमन्त्री देउवासँग चासो देखाएको बालुवाटार स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसार, ‘अर्थमन्त्रीको विषयमा राष्ट्रपतिले पनि चासो देखाउनु भएको छ । अनौपचारिक तवरबाट पनि उहाँले अर्थमन्त्रीले गरेको क्रियाकलाप र जवाफबारे चिन्ता व्यक्त गर्नुभएको छ ।’ घटनाको संसदीय छानबिन गर्न माग गर्दै विपक्षी एमालेले शर्माको राजीनामा माग्दै आएको छ ।
काङ्ग्रेसभित्र घटना सार्वजनिक भएदेखि नै शर्मालाई पदमुक्त गर्नुपर्ने आवाज उठे पनि माओवादी चिढिने डरले देउवा मौन बस्दै आउनुभएको थियो तर, आइतबारको सिसिटिभी फुजेटको घटनापछि काङ्ग्रेसले सार्वजनिक रूपमै देउवामाथि दबाब बढाएका छन् । महामन्त्री गगन थापाले शर्माले तत्काल राजीनामा दिनुपर्ने यदि नदिएमा प्रधानमन्त्रीले नै एक्सन लिनुपर्ने सुझाव समेत दिनुभएको छ ।

‘अहिले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो, बाहिर उठ्यो। हो, होइन मलाई थाहा छैन’, थापाले भन्नुभयो, ‘तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ । र, तत्काल छानबिन गर्नुपर्छ ।’

एकातिर अनाधिकृत रूपमा करको दर हेरफेर गर्नु, अर्कोतिर कानुनविपरीत फुटेज डिलिट गर्नु सामान्य विषय नभएकाले प्रधानमन्त्री गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । महामन्त्री थापाले भन्नुभएको छ, ‘हाम्रो आफ्नै कार्यविधि छ । हाम्रो आफ्नै नियम, कानुनले पनि हामीलाई कम्तीमा तीन महिनासम्मको सिसिटिभी फुटेज राख्ने कुरा भनिहाल्छ । त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ । यसको करको दर भनेको चाहिँ सामान्य कुरा होइन । कसैले सामान्य मानवीय त्रुटि भयो भनेर यसबाट छुटकारा पाउने कुरा पनि छैन ।’

आज बस्ने काङ्ग्रेस पदाधिकारी बैठकमा समेत यो विषय उठेको छ । अर्थमन्त्री शर्मालाई के गर्ने भन्ने विषयमा छलफल गर्न देउवाले प्रचण्डलाई बालुवाटार बोलाउनुभएको स्रोतको भनाइ छ । बालुवाटार स्रोतका अनुसार, ‘अर्थमन्त्रीको बारेमा प्रधानमन्त्री एउटा निष्कर्समा पुग्न चाहनु भएको छ । आज प्रचण्डसँग छलफल गरेपछि भोलिसम्म केही टुङ्गो लाग्छ होला ।’