फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पार्टीका नेताहरुको बैठक बसिरहेको छ । पार्टीका पूर्वस्थायी समितिका सदस्य र प्रदेशका इन्चार्जहरूको उपस्थिति रहेको उक्त बैठकमा पार्टी पदाधिकारी चयन, मन्त्रिमण्डलका विषयमा उठेका विषयहरुमा छलफल चलिरहेको छ ।

आइतबारदेखि सुरुभएको पार्टी केन्द्रीय समितिको जारी बैठकलाई अचानक स्थगित गरेर प्रचण्ड निवास खुमलटारमा नेताहरू छलफलमा जुटेका छन् ।


प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा अर्थमन्त्री परिवर्तन गर्ने विषयमा पनि छलफल हुने सम्भावना रहेको छ । बजेट निर्माणका क्रममा जेठ १४ गते अर्थमन्त्री जनार्दन शर्माको कार्यकक्षमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका विषयमा फेरबदल भएको भन्दै सङ्घीय संसदमा अर्थमन्त्री शर्माको चर्को विरोध हुँदै आएको छ । खुमलटारमा जारी बैठकमा पार्टीका नेता एवम् अर्थमन्त्री शर्मालाई हटाई उक्त स्थानमा कसलाई पठाण्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई आज पदमुक्त गर्ने सम्भावना रहेको स्रोतको दावी छ । माओवादी केन्द्रको जारी बैठक पछि अर्थमन्त्री शर्माले राजीनामा दिन सक्ने सम्भावना रहेको छ ।