काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि प्रज्ञा भवन कमलादीमा बस्दै छ । बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूले राखेका धारणामाथि जवाफी सम्बोधन गर्नुहुने कार्यसूची रहेको बताइएको छ ।

गत आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्ने लगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन् । पार्टीको पदाधिकारी चयन तत्काल हुनुपर्ने, शहरी क्षेत्रमा पार्टी किन कमजोर भयो भन्ने बारेमा स्पष्ट दृष्टिकोणका साथ विशेष अभियान सञ्चालन गर्नुपर्ने, पार्टी सञ्चालनका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन् ।

यस्तै पार्टीको साङ्गठनिक अवस्थाको सुधारका लागि ७५३ वटै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टी समिति परिचालित हुनुपर्ने, तालमेलभन्दा पनि आफ्नै बलबुतामा उभिने गरी अगाडि बढ्नुपर्नेमा पनि केन्द्रीय सदस्यहरूले जोड दिएका छन् । माओवादीले संविधान निर्माणपछि आमरूपमा जनतालाई प्रभावमा पार्ने गरी अभियान चलाउन नसकेको र पार्टीको छवि एउटाको पछि लागेर सरकारमा जाने बनेको भन्दै त्यसमा ‘ब्रेक थ्रु’ जरुरी रहेको नेताहरूको भनाइ थियो । केन्द्रीय सदस्यहरूले उठाएका यी तमाम विषयहरूमा अध्यक्ष प्रचण्डले आज जवाफ दिनुहुने कार्यसूची रहेको छ ।