काठमाडौं – आज देशका केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज बिहान सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन चट्टयाङसहित हल्कण् देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्न हुँदा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।