फाइल तस्वीर
काठमाडौं— प्रमुखप्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको बैठकमा बोल्दै बजेट घोषणाको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र करको दर हेरफेर गरिएको सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्नुभएको छ ।

एमाले प्रमुख सचेतक भट्टराईले ‘लामो समयदेखि आफूहरुले यसबारेमा संसदीय छानविन हुनुपर्ने माग गर्दै आएको’ भन्दै आफूहरुलाई बजेटमा गडबड भएको आशंका उतिबेलै भएको र पछिल्लो समय व्यवस्थित रुपमा त्यससम्बन्धी सूचनाहरूसमेत बाहिरिएको बताउनु भएको छ । एमाले नेता भट्टराईले ‘सेटिङमा आधारित रहेर बजेट ल्याएको’ प्रस्ट हुँदै गएको दावी समेत गर्नुभयो ।

अर्थ मन्त्रालयले बजेट भाषणको अघिल्लो रात जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज ‘डिलिट’ भइसकेको जवाफ दिएको उल्लेख गर्दै एमालेका प्रमुख सचेतक भट्टराईले यसले पनि छानविन आवश्यक रहेको पुष्टि हुने जिकिर समेत गर्नुभयो । नेता भट्टराईले ‘यति गम्भीर प्रश्न उठिसकेपछि राष्ट्रको अर्थतन्त्रलाई यसरी धरासायी हुने गरी करका दर परिवर्तन गरेकोमा प्रधानमन्त्री र उहाँको दलले किन टुलुटुलु हेरेर बसिरहनु भएको हो ?’ भन्दै ‘यो प्रकरणमा संसदीय छानविन समिति गठन गर्न सभामुखबाट आफूले रुलिङको अपेक्षा गरेको बताउनु भएको छ ।