फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको आज सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानविन गर्नुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा समय लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानविनको माग गर्नु भएको हो ।

अध्यक्ष ओलीले ‘यसमा एउटा संसदीय कमिटी बनाएर छानविन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ भन्दै सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गर्नुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री ओली मन्त्रीमाथि केही गर्न नसक्ने अवस्थामा पुगेको हो भनी प्रश्न गर्दै ‘प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ?’ भनेर प्रश्न गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले ‘कि गठबन्धन जोगाएपछि पुग्छ, देश बर्बाद होस् जहाँसुकै पुगोस् भन्ने हो’ भन्दै ‘एउटा मन्त्रीमाथि प्रश्न उठ्दा गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बस्नु गैरजिम्मेवारी हो’ भन्नुभयो ।

अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुटेज समेत सार्वजनिक नगरेको भन्दै ओलीले आपत्ति प्रकट गर्नुभयो । ‘फुटेज डिलिट गर्न पाइन्छ ?’ भन्दै ओलीले ‘कर्तव्य हुन्छ, आफ्नो स्वच्छता प्रमाणित गर्ने, आउनुस् फुटेज हेरौं, आउनुस् छानबिन गरौं मन्त्रीले यो भन्न सक्नुपथ्र्यो, तर किन माग्दैमा दिने भनेर ललकार्ने ?’ भनी प्रश्न गर्नुभयो ।

बजेट निर्माणका क्रममामा अनधिकृत व्यक्तिको प्रवेशको विषयमा एमालेले प्रश्न उठाउँदा अर्थमन्त्रीले धम्कीको भाषा बोलेको भन्दै एमाले अध्यक्ष ओलीले आक्रोश व्यक्त गर्नुभयो । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भन्नुभयो ‘यो त विश्वमै नभएको, बाहिरिया मान्छे राखेर बजेट बनाउने कुरा कल्पनै गर्न सकिदैन, यस्तो हुँदा पनि ‘राज्य एउटा थितिमा चल्नुपर्दैन ?’