काठमाडौं – सरकारको शुक्रबार बसेको मन्त्रीस्तरीय निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उहाँहरूलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

पदोन्नतिपछि दज्र्यानी चिह्न प्राप्त गर्ने डिआइजीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहनुभएको छ ।

यसैबीच दज्र्यानी चिह्न प्राप्त गरेपछि गृह मन्त्रालमया आयोजित एक समारोहका बीच बधाई र निर्देशन दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वस्त रहेको बताउनुभयो । गृहमन्त्री खाँणले प्रहरी अधिकृतहरूले सरकारले उपलब्ध गराएको सीमित स्रोतसाधन उपयोग गरेर उत्कृष्ट जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै यहाँले अहिले डिआइजी भएकाबाटै अबको नौ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कार्यसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोसिस गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले बढुवाका लागि भन्दा उत्कृष्ट कार्यसम्पादनका लागि प्रतिस्पर्धा गर्न पदोन्नति भएका अधिकृतलाई निर्देशन दिनुभयो । अहिले प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १७ मध्ये चार जना महिला हुनुहुन्छ । यही असार ८ गते बढुवा सिफारिस समितिले उहाँहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । गृहमन्त्री खाँणले नेपाल प्रहरीमा महिला नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारको रहेको पनि बताउनुभयो ।