दाङ – राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ । रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । बिरामीहरूको व्यवस्थापन र सजिलोको लागि शुक्रवारदेखि अस्पतालमा टोकन प्रणाली सुरु भएको छ भने प्रदेश सरकारको निर्णयअनुसार ओपिडीको टिकट निःशुल्क गराइएको छ । टोकन प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले शुभारम्भ गरेका छन् ।

‘प्रणालीमा नहुँदा यसअघि सेवाग्राहीहरु घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता थियो । अब यो समस्या टोकन प्रणाली लागू भएपछि समाधान भएको छ । पहिले घण्टौँ लाइनमा लाग्नु पर्ने अवस्था हुन्थ्यो, यसले बिरामी र बिरामीका कुरुवालाई निकै अप्ठेरो बनाएको देखिन्थ्यो’, मन्त्री थारुले भन्नुभयो, समस्या हटेर सहज हुने विश्वास लिएको छु ।

लुम्बिनी प्रदेश सरकारको साढे पाँच लाख लागतमा टोकन प्रणाली सुरु गरिएको हो । दुई स्थानबाट बिलिङको काम हुने र दुई स्थानबाट पुर्जा लिने गरी व्यवस्था मिलाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले बताउनुभयो ।

तालिम घर स्थापना
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जिल्लामै पहिलो क्लिनिकल तालिम घरको स्थापना गरिएको छ । दाङ जिल्लामा स्वाथ्यकर्मीहरुलाई तालिम दिन र लिन सजिलो बनाउने उद्देश्यले प्रादेशिक अस्पतालभित्र तालिम घरको निर्माण भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो । तालिम घरको स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उद्घाटन गर्नुभएको हो । तालिम घरमा बढीमा २० जनासम्मलाई एक चरणमा तालिम दिन सकिन्छ ।