फाइल तस्वीर

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा पहिरोले १० घर जोखिममा परेका छन् । शुक्रबार रातीको अविरल वर्षापछिको पहिरोले फेदी शुक्रबारेका बुद्धिराज राईको घरमुनिबाट पहिरो गएको हो । सर्नका लागि तयार पारिएको घरको पेटीभन्दा मुनिबाट पहिरो गएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताउनुभयो । बुद्धिराजको पेटीबाट झरेको पहिरो केहीमुनि रहेको दुजयन्ती राईको घरमाथि सडकमा थुप्रिएको छ ।

माथिबाट झरेको पहिरोले तीन ओटा गोठ बगाएको छ । घरभन्दा केहीमाथि रहेको तपसी–दामलुङ सडकको नयाँ ट्रयाकबाट पहिरो जाँदा गोठ पुरिएको हो । यस्तै, चिलिंखाका नविन राईको घरमुनि पहिरो गएको छ । पहिरोले घर लच्काएको छ । पहिरोले घर जोखिममा परेपछि समाक्षमा राई, नविन राई, लाखमनी राई, रत्नमणी राई, मतीराज राई, इन्द्रमनी राई, धनकुमार राई र बडामनी राईको परिवारलाई तपसीडाँडामा सार्ने तयारी गरिएको छ । केही स्थानीय शनिबार रातीदेखि नै घर छाडेर तपसीडाँडाका पसल तथा छाडिएका रित्तो घरमा बास बस्न पुगेको वडाध्यक्ष राईले बताउनुभयो ।

फेदीको याक्सामा सडककै कारणले गएको पहिरोले घरमा क्षति पुगेको छ । अनुगमनमा पुग्दा पहिरोले फेदीमा वितण्डा मच्याएको केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले बताउनुभयो ।