काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन तथा कार्यविभाजनको कार्यसूची रहेको बताइएको छ ।

प्रज्ञा भवनमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा योजनाबारे पनि छलफल हुने बताइएको छ । महाधिवेशन सम्पन्न भएपछि पटक–पटक केन्द्रीय समितिको बैठक बस्ने तय भएपनि बैठक सर्दै आएको थियो । महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

गत २०७८ पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेपनि हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेको छैन । आठौं महाधिवेशनले पारित गरेको विधानमा अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी रहने व्यवस्था छ । २९९ सदस्यीय केन्द्रीय सदस्यहरुमा १५ प्रतिशत सदस्य मनोनित र थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । मनोनित र वैकल्पिक केन्द्रीय सदस्य चयन हुन पनि बाँकी छ ।