ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभएको छ । ललितपुरमा आज शनिबार आयोजित कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गर्नुभयो ।

नेपालले पछिल्लो एक महिनामा एक अर्ब ७२ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । प्राविधिक रूपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् । कृषि, जलविद्युत र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युत्को उचित विकास गरेर देशलाई समृद्ध बनाउने सबैको जिम्मेवारी रहेको बताउनुभयो ।

‘बिजुलीको खपत गरेर नेपाली धनी बन्न सक्छन् । बढी भएको बिजुली निर्यात गरेर नै देश समृद्ध बन्न सक्छ, ‘उहाँले भन्नुभयो । आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले त्यसका लागि जलविद्युत, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने बताउनुभयो । देशभर गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन विद्युतीकरणका संरचनागत सुधारमा आफूले जोड दिएको उल्लेख गर्दै उहाँले विद्युतीय सवारी साधन र विद्युतीय उपकरणको प्रयोग गरेर खपत बढाउन अपिल गर्नूभयो । रासस