ललितपुर – स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि सङ्घीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको विशेष भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ ।

ललितपुरको हेरिटेज गार्डेनमा आयोजित विशेष भेलामा आगामी आम निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारे निष्कर्ष आउने बताइएको छ । साथै, स्वतन्त्र उम्मेदवार बन्न आवश्यक मापदण्ड पनि तय गरिएको छ । स्वतन्त्र उम्मेदवार हुन ६८ वर्ष नाघेको हुन नहुने जनाइएको छ । त्यस्तै, सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने जनाइएको छ। प्रत्यक्ष निर्वाचन लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पनि मापदण्डमा उल्लेख गरिएको छ ।

स्वतन्त्र उम्मेदवारका मापदण्ड देहायअनुसार हुनेछन् :

१. हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुनेछ ।

२. राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ ।

३. सांसद वा मन्त्रीले देश–विदेशमा विभिन्न छलफल र निर्णयमा सहभागिता जनाउनुपर्ने भएकाले सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ ।

४. प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ ।

५. सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्छ। उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनु हुँदैन। उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनुपर्दछ ।

६. उम्मेदवार बन्ने व्यक्तिले जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्नुपर्छ ।

७. प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्दछ ।

८. उम्मेदवार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुनु हुँदैन । जस्तै ः निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ । विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन ।

१०. तीनपटकभन्दा बढी मन्त्री भइसकेकाहरुलाई मतदान गरिने छैन ।

११. उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको बैधानिक स्रोत सार्वजनिकरुपमा खुलाउनुपर्नेछ ।

१२. भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् ।

१३. सांसद वा मन्त्री बनेर बनेर घुस खान्नँ, कुनै अनियमितता गर्दिनँ, जनताको पक्षमा काम गर्नेछु, त्यसो नगरे राजीनामा दिएर फिर्ता हुन तयार छु भन्ने प्रतिद्धता जनाउनुपर्नेछ । संवैधानिक आयोग एवं राजदूतलगायत अन्य राजनीतिक नियुक्तिहरुमा हुने दलीय भागबन्डाको संसदमा खुलेर विरोध गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ ।