काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष मङ्सीरमा सञ्चालन गरेको प्रशासनिक पदहरूको नतिजा यहि असार १४ र १५ गते प्रकाशन गरेको छ । विभिन्न तेह्र पदमा लिएको परीक्षाको नतीजा प्रकाशन गर्दा अधिकृतस्तरका छ वटा पदमा नतीजा शून्य आएको पाइएको छ । विभिन्न प्रशासनिक पदमा आयोगले कुल २ सय ९१ जना जनशक्ति माग गरेकोमा १ सय ५५ जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेका छन् । परीक्षामा कुल ४ हजार ४ सय १२ जना परीक्षार्थी सहभागी रहेका थिए ।

६ वटा पदमा शून्य नतिजा

अधिकृत द्धित्तिय श्रेणीका पदहरू उपपुस्तकालयध्यक्ष, उपप्रशासक, आर्थिक उपनियन्त्रक र नर्सिङ उपनियन्त्रक पदहरूमा नतीजा शून्य आएको हो । उपपुस्तकालयध्यक्ष पदमा एक जना माग भएकोमा दुई जना परीक्षार्थीले परीक्षा दिएका थिए । त्यस्तै उपप्रशासक पदमा चार जना माग भएकोमा १२ जनाले जाँच दिएका थिए । यसैगरी आर्थिक उपनियन्त्रक पदमा दुई जना माग भएकोमा तीन जना र नर्सिङ उपनियन्त्रकमा एक जना माग भएकोमा आठ जनाले परीक्षा दिएका थिए ।

यसैगरी अधिकृत तृतीय श्रेणीका पदहरूमा पनि नतीजा शून्य आएको छ । शाखा अधिकृत पदमा ५४२ जनाले परीक्षा दिएकोमा ४० जना माग भएको थियो भने लेखा अधिकृत १५ जना माग भएकोमा १ सय २९ जनाले परीक्षा दिएका थिए ।

माग भन्दा कम उत्तीर्ण

यसैगरी नर्सिङ अधिकृत पदमा १० जना माग भएकोमा ७ जना मात्र उत्तीर्ण भएका छन् । जसमा ४०७ परीक्षार्थीले जाँच दिएका थिए । सबैभन्दा बढी १ हजार ३ सय ४८ जना परीक्षार्थी सहभागी भएको स्टाफ नर्समा ७७ जना माग भएकोमा ३५ जनाले मात्र पास गरेका छन् । यो मागभन्दा ४२ जना कमी हो । यसैगरी मुख्य लेखा सहायक पदमा २१ जना माग भएकोमा २ सय १० जना परीक्षार्थीमध्ये २७ जनाले उत्तीर्ण गरेका छन् । उता मुख्य कार्यालय सहायक पदमा ४३ जना माग भएकोमा ७ सय ७७ जनाले परीक्षा दिँदा एक जनाले मात्र उत्तीर्ण गरेका छन् ।

यस्तै लेखा सहायक पदमा १८ जना माग भएकोमा १ सय ६६ जनाले परीक्षा दिँदा २३ जना उत्तीर्ण भएका छन् भने कार्यालय सहायक पदमा ५१ जना माग भएकोमा ६ सय ७२ परीक्षार्थीमध्ये ५८ जनाले उत्तीर्ण गरेका छन् । उता पुस्तकालय सहायक पदमा ८ जना माग भएकोमा १ सय ३६ जना परीक्षार्थीमध्ये ४ जनाले मात्र उत्तीर्ण गरेका छन् ।

२ सय ६५ उत्तरपुस्तिका रद्द

परीक्षा दिएका दुई सय पैसट्ठी उत्तरपुस्तिका रद्द भएको आयोगले जनाएको छ । स्टाफ नर्सको परीक्षामा ९० जनाको उत्तरपुस्तिका रद्द भएको छ भने नर्सिङ अधिकृत पदमा ३५ जनाको उत्तरपुस्तिका रद्द भएको पाइएको छ । यसैगरी पुस्तकालय सहायक पदमा दुई वटा, शाखा अधिकृत पदमा ४३ वटा, मुख्य कार्यालय सहायक पदमा ३८ वटा, कार्यालय सहायक पदमा २८ वटा, लेखा अधिकृत पदमा १० वटा उत्तरपुस्तिका रद्द भएको पाइएको छ ।

यस्तै मुख्य लेखा सहायक पदको ९ वटा र लेखा सहायक पदको १० वटा उत्तरपुस्तिका रद्द भएको आयोगका प्रमुख केदारनाथ ढकालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् नतिजाको तथ्याङ्क: