काठमाडौं – पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण’ को आज स्थलगत निरीक्षण गर्ने हुनुभएको छ । काठमाडौंबाट अहिले बिहान ९ बजे प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकन भ्रमणमा जान लाग्नुभएको हो ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा जान लाग्नुभएको हो । जैविक विविधतायुक्त घना जङ्गल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ ।

यता, निजगढका स्थानीयले भने सर्वोच्चको यसअघिको फैसलापछि निजगढमा नै विमानस्थल निर्माण गरिनु पर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनशन बिहीबारबाट अन्त्य भएको छ । विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधवार सार्वजनिक गरेको पूर्ण पाठलाई सकारात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनशन अन्त्य गरेको हो ।