काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कुनै समस्या नहुने बताउनुभएको छ । आज शुक्रबार काठमाडौंको प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानुनी समस्या नहुने बताउनुभएको हो ।

उहाँले अहिले कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानुनी जनशक्ति विकास गर्न पर्याप्त नहुने बताउनुभयो । राष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्नसक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरूको विकास गर्दै कानुनी शिक्षालाई युगसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले कानुनी शिक्षालाई समय सापेक्ष, व्यवहारिक, अनुसन्धानमुलक, गुणस्तरीय र प्रतिष्पर्धी बनाउँदै लैजान आवश्यक रहेको बताउँदै कानुन शिक्षा नै कानुनी शासन स्थापनाको आधार भएको उल्लेख गर्नुभयो ।