काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । एमालेको आज शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अनाधिकृत व्यक्तिका कारण करको दर हेरफेर गरिएको भन्दै बैठक बहिस्कार गरेको हो ।
अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै आएको छ । एमालेले अर्थमन्त्री शर्माले राजीनामा नदिने भए संसदीय छानविन समिति गठनको माग राखेको छ । आफूहरुको मागको सुनुवाइ नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको हो ।

शुक्रबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमालेले बैठकमा उठेर विरोध जनाएको थियो ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिनुभएको थियो । सांसद श्रेष्ठले अर्थमन्त्री शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी गराएपछि एमाले सांसदहरु बैठक हलबाट बाहिर निस्किएका थिए ।

एमाले सांसदहरुले बैठक बहिष्कार गरे पनि अध्यक्ष तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिनुभएको थियो । अर्थमन्त्रीले प्रस्ताव पेश गरेपछि एमाले बाहेकका सांसदहरुको अनुपस्थितिकाबीच पनि राष्ट्रियसभामा आर्थिक विधेयकमाथि छलफल चलिरहेको छ ।