काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रदेश–१ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।