काठमाडौं – स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले ग्रामीण क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या भएको बताउनुभएको छ । नेपाल स्वास्थ्य प्राविधिक सङ्घको ४४ औं स्थापना दिवसका अवसरमा आज बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खापुङले विभिन्न जिल्लाबाट डाक्टर र नर्स पठाउनुपर्ने भन्दै गुनासो आएको तर कोही जान तयार नरहेको बताउनुभएको हो ।

डाक्टर र नर्स जान नमानेका कारण नै केही जिल्लामा चिकित्सकको अभाव भएको उहाँको भनाई छ । उहाँले सरकारले पठाएको जुनसुकै स्थानमा पनि जानका लागि चिकित्सकहरूले मानसिकता बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । मन्त्री खापुङले समायोजनका विषयमा पनि कर्मचारीहरूबाट अनेक समस्या आएको उल्लेख गर्नुभयो ।