बेदकोट – कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा हिजो साँझ घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको मृत्यु भएको हो ।

बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउँदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइँ गर्न गएकी थिइन् ।

पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।