काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । महालेखा परीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले आर्थिक शुद्धता नै सुशासनको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायहरूबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व सङ्कलन, स्रोत र साधनको बाँडफाँड लगायतका विषयमा सरकारलाई सुझाव दिनुपर्ने पनि बताउनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा आर्थिक पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालय सक्षम हुनुपर्ने जोड दिनुभयो ।