काठमाडौं –गृहमन्त्री बालकृष्ण खाँणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताउनुभएको छ । मनसुन पूर्व तयारी प्रतिकार्य बैठकमा सहभागी गृहमन्त्री खाँणले सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकाले त्यसका लागि एकीकृत प्रयास गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले विपद्को जोखिम न्यूनीकरण गर्दै जनताको जिउधनको रक्षा गर्ने राज्यको मूल दायित्व पूरा गर्न ठुलो चुनौती रहेको भन्दै त्यसलाई चिरेर अगाडि बढ्न सबैलाई निर्देशन दिनुभयो । भारी वर्षात्पछि आउने बाढी, पहिरो तथा हुने डुबानबाट रोक्ने रणनीतिसहितको पूर्व तयारी आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले त्यसका लागि सडक, खानेपानी, सञ्चार, स्वास्थ्य, सुरक्षासहितका निकायलाई तम्तयार अवस्थामा बस्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा जल तथा मौसम पूर्वानुमान महाशाखा, सडक विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिँचाई विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट विपद्को पूर्व तयारीका लागि गरिएका कामबारे जानकारी गराइएको थियो ।